दिनहुँ जसो आज पनि म काम सकेर उहीँ होटल पस्छु
दिनहुँ जसो आज पनि म काम सकी होटल पसेर त्यो कुनाको टेबलमा बस्छु
दिनहुँ जसो आज पनि म होटल पसेर त्यो कुनाको टेबलमा बसेर चुरोट सल्काउँछु
तर दिनहुँ जसो त्यहि टेबलमा हुने उ आज त्यहाँ छैन

मलाई एक्लोपनको आभाष हुन्छ,
म यता उती हेर्छु
उ कहीँ छैन,
उ, या न कि मेरो चुरोट खाने साथी

मेरो चुरोट खाने साथी आज त्यस् होटलमा छैन
एकछिन त लाग्यो, गयो होला अर्कै ठाउँ, एक जनालाई जहिले कस्ले पर्खिने?
तर उ जान पनि कहाँ सक्छ र?
उ अरुको लागि बाँचेको हो
उ, या न कि मेरो चुरोट खाने साथी,
मेरो चुरोट खाने साथी, या न कि एस्ट्रे

म होटलको साहुलाई भन्छु,
उसले अर्को एस्ट्रे मेरो सामु ल्याई रखिदिन्छ
तर यो मेरो साथी हैन
यसले मलाई चिन्दैन,
मेरा दु:खहरु जान्दैन

मेरो साथी साह्रै राम्रो थियो
सिसाले बनेको, चिटिक्क परेको, टलक्क टल्केको
र टेबलमा उस्को छुट्टै शान
यो राम्रो छैन,
प्लास्टिक ले बनेको, पहेंलो रङ्गको, साह्रै हलुको
यस्तो हलुको चीजले मेरो गह्रुङ्गो मन कसरी बुझ्ला?

एक्छिन् झर्को लाग्यो
सोधें त्यस्लाई “ओई, कहाँ गयो त्यो अर्को?”
त्यसले बटारिएर भन्यो “गयो, लाग्यो आफ्नो बाटो”
“तिमीहरु जस्ताका दु:ख सुन्दा सुन्दा वाक्क लाग्यो”
“वाक्क लाग्यो र आत्महत्या गर्‍यो ”
“यहीँ टेबल बाट हाम फाल्यो र टुक्रा-टुक्रा भयो”

म झसङ्गिए,
सोधें त्यस्लाई “तिमीहरुको नि मन दु:ख्छ र?”
“तिमीहरुलाई नि आत्महत्या गर्न मन लाग्छ र?”

त्यस्ले भन्यो “किन नहुनु?”
“हामी र तिमीहरुमा के फरक?”
यहाँ बसेर हामी हजारौंका दु:ख सुन्छौं,
तर हाम्रो कसैले सुन्दैन…
हाम्रो नि मन तिमीहरुको जस्तै हो – कसैको दरो हुन्छ, कसैको हुँदैन
तेरो साथीको मन तँ जस्तै थियो, सिसाको – फुट्यो”

म स्तब्ध हुन्छु,
त्यो अझै बोल्दैछ
“खैर, अब बिर्सिदे त्यस्लाई, जानु थियो, गयो”
“अब म दिन्छु तेरो साथ, त्यो जस्तो डराएर जाने छैन म, हारेर जाने छैन म
मलाई केही हुने छैन, म फुट्ने छैन”

मलाई रिस उठ्यो
तेत्रो वर्षको मेरो साथीलाई नानाथरी भन्ने?
रिसले हुर्‍याइदिएँ त्यस्लाई टेबलबाट
त्यो खस्यो,
र त्यो सँगै खस्यो मैले दिएका चुरोटका खरानी
र त्यो खरानीमा भरिएका मेरा पीडा
तर त्यो उस्तै थियो, नँयै जस्तो

एकछिन् पछी उठाएर टेबलमा राखेँ
त्यस्ले गिज्यायो मलाई “देखिस् त?”

हो साच्चै रहेछ ।
शायद मान्छेको मन पनि प्लास्टिकको हुँदो हो त कहिल्यै केही नहुँदो हो
मलाई लाग्यो,
अब मैले पनि मेरो मन प्लास्टिकको जस्तै बनाउन पर्छ,
अब मैले पनि घरमा एउटा प्लास्टिकको एस्ट्रे किनेर ल्याउन पर्छ|