हाम्रो चिया गफ जङ्क्सन प्राय बानेश्वरका चिया पसल हरु – कहिले मध्य-बानेश्वरको “WE” क्याफे त कहिले नयाँ बानेश्वरको विभव खाजा घर । कुल मिलाएर हिसाब गर्ने हो भने अहिलेसम्ममा जिन्दगीको लगभग १ वर्ष त ती २ चिया पसलामा बितेको छ ।

कलेज मै हुँदा को समय – BCIS या न कि ‘ब्याचेलर इन कम्प्युटर इन्फोर्मेसन सिस्टम‘ –  नाना थरिका प्रोजेक्टहरु ।
अहिले यसो फर्केर हेर्दा न कुनै प्रोजेक्ट राम्रो सँग गरियो, न ४ वर्षको पढाईपछी ‘कोडिङ्ग’ गर्न जानियो । प्रोजेक्टका नाममा भए त त्यही चिया गफ, र कोडिङ्ग को नाममा उहि “हेल्लो वोर्ल्ड” ।

यो पनि तेस्तै प्रोजेक्टको सिलसिलामा भएको गफ हो सायद । माइनर प्रोजेक्ट-२, ब्याचेलरको छैटौं सेमेस्टरमा गर्न पर्ने । प्रोजेक्टमा “गर्ने के त ?” भन्ने छलफल गर्न हामी ५ पात्र विभव खाजाघरमा छौं । चिया नमगाई केहि छलफल गर्ने चलन छैन ।

५ वटा चिया मगाई सकेपछी किरन बोल्छ -“ल भन त केटाहो, के गर्ने यसपाली ?”

किरन हामी मध्यको सबै भन्दा गफाडी – आखिर झापाली थियो, नामैले बदनाम – कुनै कुरा सुरु उसैले गर्थ्यो प्राय । बोल्न नि सार्है सिपालु, स्वर पनि ठुलो र मान्छे उत्तिकै मिजासिलो – जो सँग पनि मिलिहाल्न सक्ने । केटीहरुसँग पनि अलि धेरै नै बोल्ने भाकोले “बोका दाई” को नामले चिनिने, कलेजमा उस्ले जत्तिको सबैलाई चिन्ने सायद कमै थिए । ‘लिडरसिप’ क्वालिटी पनि भएको, सायद अलि गुन्डा-गर्दी गर्ने भए नेतै बन्न सक्थ्यो ।

“पहिलेकै प्रोजेक्ट लाई अलि मजाले अगाडी लगम न, बरु धेरै फिचर हालम्ला नि,” अनुप बोल्छ ।

हामी मध्यको अलि अल्छी भनौँ वा के भनौँ, अनुप सकेसम्म काम कम गरौं भन्थ्यो । “वर्क स्मार्ट, नट हार्ड” उसको मुल-मन्त्र । झापाली त झापालि, तर गफ चै किरन भन्दा अलि कमै दिन्थ्यो तर राजनितिक गफ गर्न उसलाई अरुले नभ्याउने । मन लागेको काममा फेरी उ साह्रै जेहेन्दार, “selectively मेहेनती” भन्दा फरक पर्दैन । “पहिलेकै वाला लाई थप्दै जाने हो भने मेजर प्रोजेक्ट सम्ममा खत्रै हुन्छ बरु,” ऊ फेरी भन्छ । “पछी त्यै सफ्टवेयार बनाएर मार्केटमा हाल्न पर्छ…” उसका सपना पनि अलि ठुला नै हुने गर्थे ।

“हैन, अर्कै बनाम । पहिलाको प्रोजेक्टमा म नि थिइन तिमीहरुसँग, नयाँ आइडिया सोचेर, सुरु देखी केहि खत्रै गरौँला बरु… बबाल बनाउन सकिन्छ,” पाण्डे बोल्छ ।

नाम उस्को योगेश, तर थर पाण्डे भएका मान्छेको नाम सायदै अरुलाई याद हुन्छ । तसर्थ, उ पनि हाम्रो लागी पाण्डे थ्यो । ग्रुपको सबैभन्दा कम्प्युटर एक्स्पर्ट, कोडिङ्ग देखी लिएर डिजाइनिङ, एडिटिङ, सानोतीनो रिपेरिङ्ग, सबै जानेको । त्यै भएर प्रोजेक्ट मा हामी सबैको आश उसै माथी थियो, “पाण्डे छदैँ छ नि” भन्ने गर्थ्यौं हामी । समस्या के भने यो मुजिको मन एक ठाउँमा कहिले नरहने । केहि नयाँ आइडिया आयो भने आधा सकेको काम पनि सुरु देखी गर्न पर्छ भन्ने गर्थ्यो, तर हामी सबै उसैको मुख ताकेकाले केहि भन्थेनौं । फेरी उसको इगोको चै कुरै नगरम, उ खुद आफै भन्थ्यो, “I am a very egoistic person” र त्यो कुरामा सत्यता नि थियो ।

“अँ, ठिकै हो,” म बोल्छु ।

म मेरो बारेमा के भनौं ? गफ म नि लाउन सक्थेँ तर किरनको एक छेउ, जेहेन्दार पनि हो तर अनुप जत्तिको हैन, कम्प्युटर नजानेको नि हैन तर पाण्डेको एक छेउ । रहर…लेखक बन्ने । BCIS आँटेर पढिसकेपछि, बिच तिर पुगेर त्यो फिल्ड बाट इन्टरेस्ट हराको तर अब बुवाको पैसा गैसकेको र डिग्री कै लागी भए नि सक्ने भनेर बसेको, सायद जसरि रहर हरायो त्यसरी नै फर्कन्छ कि भन्ने आशा नि थियो, कता कता । ग्रुपको हावा-हावा होस या अलि ठोस, आइडिया राख्ने मान्छे म । आइडिया अरुलाई नआउने होईन, तर आइडिया एक्स्प्रेस गर्नमा म अगाडी हुन्थे । त्यै भएर नि सरहरु मलाई स्मार्ट विध्यार्थी ठान्थिए, वास्तविकता कमैलाई थाहा थियो ।

“ल ल, तिमीहरु जे गर्नु छ गर है केटाहो, आफुले त सब बिर्सिसक्यो…म मोरल सपोर्ट बस्दिन्छु,” सजिन बोल्छ ।

हाम्रो ग्रुपको सबैभन्दा अल्छि भन्दा नि फरक पर्दैन । ट्यालेन्टको कमी भाको होईन, साच्चै नै मान्छे निकै अल्छी थियो । ग्रुपको आर्टिस्ट – खत्रा चित्र कोर्ने, पेन्टिङ्ग गर्ने, गितार देखी त्यस्तै आधा दर्जन बाजा बजाउन जान्दथ्यो । यसले चाहे चित्र कोरेरै, पेन्टिङ्ग गरेरै टन्न कमाउन सक्थ्यो; कम्प्युटर र कोडिङ्ग नि नबुझ्ने हैन, अलि ध्यान र मन लगाए धेरै गर्न सक्ने मान्छे – बस, साह्रै अल्छी । त्यै भएर पढाईमा नि सबैभन्दा धेरै ब्याक उस्कै थियो ।

चिया गफका ५ पात्र
चिया गफका हामी ५ पात्र – (बाँयाबाट) अनुप, किरन, पाण्डे, सजिन,… त्यस्तै कुनै प्रोजेक्टको बेला

ठ्याक्क चिया नि आइ पुग्छ । ५ गिलास चिया अगाडी भएपछी पाण्डे भन्छ, “दाइ, २ वटा सुर्य है!” र हामी तिर फर्कन्छ ।

“ल सोच सोच, के गर्ने हो । यसपाली खत्रै गर्नु पर्छ” उ फेरी भन्छ । “यसपाली पहिलाको जस्तो नहोस्, २ रातभर बसेर गर्नु नपरोस् ।”

“आखिर जे सुकै भन, हुने त्यही हो के रे,” म भन्छु । “ऐले जती गफ लडाए नि पछी डेडलाईन आएपछी बल्ल काम सुरु गरिन्छ” हुनु पनि हो, कुनै कार्य समाप्तिका लागी सबैभन्दा ठुलो प्रेरणा भनेको डेडलाईन नै हो भनिन्छ ।

“ह्याँ…जे कुरा मा नि pessimist नहौ न तिमी चाहिँ,” अनुप भन्छ ।

हो, म ग्रुपमा मात्र नभएर क्लास भरी र अरु फ्रेन्ड सर्कलमा पनि “पेसिमिष्ट” को नामले चिनिन्छु, मेरा प्राय कुराहरु त्यस्तै हुन्छन् पनि ।

“तर हो यार,” चिया को चुस्की लाउदैँ किरन भन्छ,”बिचमा दशैं तिहारको बिदा भैहाल्छ, ढुक्कै १ महिना घर बसिन्छ, अनि आएपछी टाइम नै हुन्न नि”

“म आउँछु नत्र प्रोजेक्ट गर्ने भए दशैं तिहारको बिचमा,” पाण्डे चुरोटको धुँवा उडाउँदै भन्छ । केहि नयाँ काम सुरु हुन लाग्दा उसको जोस बेग्लई हुन्छ ।

“आउन परे आउँला नि,” अनुपले साथ दिन्छ र पाण्डेको हातबाट चुरोट लिन्छ ।

“ल उसो भए तिमीहरु गर्दै गर न त,” किरन भन्छ ।

“हो, हो, तिमीहरु गर्दै गर,” सजिन हाँस्दै भन्छ ।

“ठैट्! गरे सबै सँगै बसेर गर्ने, नत्र होस्,”म भन्छु । “बरु दशैं मा यसो केहि नयाँ सिकेर आउनु, पछी सजिलो हुन्छ”

“अँ, यसपाली vue js र laaravel मा गर्न पर्ने पनि छ, बिदामा यसो हेरेर आउन पर्ला । तिमीहरु नि हेरेर आओ न,” पाण्डे सबैलाई जोश दिन्छ ।

म केहि बोल्दिन । बिदामा घर गएर कसैले केहि छुने हैनन्, मलाई राम्रो सँग थाहा थ्यो । म आफु यँही भएर त केहि हेर्दिन, उनिहरुलाई के को दोश ?

“अनि साच्चैँ, घर जाने बेला उनि सँगै जाने हो तिमी?” किरन ले जिस्काँउदै अनुप तिर हेर्छ ।

“हैट्, जान्छु अब उनि सँग चाँहि!” अनुप लजाएको प्रष्ट देखिन्छ ।

उनि, अर्थात, अनुप ले मन पराएको र उस्लाई पनि मन पराउने उनि…(नाम नलिहालौ) । कुरो अगाडी नबढेको होईन, २ जानै उत्तिकै लजाउने भएकाले अलि ‘स्लो’ गाको छ यी २ को ।

चिया गफ को विषय प्रोजेक्ट बाट अन्तै मोडिन कति पनि समय लाग्दैन…

“कुराकानी गर्न थालेको १ वर्ष बढी भैसक्यो, के हो पारा एस्तो?” किरन अझ जिस्काउँछ ।

“हो भन्या मुला,”म थप्छु, “अब के कसो गर्न नि हामीले सिकाउनु पर्छ?”

वास्तवमा, त्यस बखत ग्रुपमा ‘गर्लफ्रेन्ड’ भएको अनुप मात्र थ्यो, अरु हामी सबै यसै ‘सिङ्गल’ । तर “रेलेसनसिप अड्भाइस” दिन हामी सबै माहिर ।

“अह भएन यसरी, लव स्टोरी खत्रै बनाउन पर्छ मुला,” सजिन नि थपिदिन्छ ।

“लव स्टोरी त पाण्डेको पो खत्रा थियो त,” अनुपको काउन्टर-अट्याक ।

पाण्डे चुरोट तान्दै अर्को तिर फर्किन्छ । अनुहार हेर्दै थाहा हुन्छ कि उसलाई त्यो सम्झिन मन छैन, तर केटाहरुले सुख दिने हैनन् । पाण्डे को सुरु हुन नसकेको उहिले को लव स्टोरी को चर्चा अझ सम्म पनि छ । नहोस पनि किन ? पाण्डेको हर्कत नि उस्तै थियो त्यस बखत । तर अहिले त्यो सुनाउन सकिन्न । उसको त्यो कथा सुनाउन त पाण्डे खुद आफैलाई १ फुल ‘ओल्ड दरबार’ चाहिएको थियो र पनि रातभरी मा समेत उसको कथा सकिएको थिएन ।

(कुनै बखत ‘दारु-गफ्’को बारे लेखिएछ भने अवश्य…)

“अनि तिम्रो चै के हुँदै छ त, खोइ?” एकाएक म तिर प्रश्न तेर्सिइन्छ । अनुप सोद्धै छ, “तिम्री वाली ले चै भाउ दिनन् ?”

अह्ह्ह्! मनमा चसक्क घोच्छ…

मेरो त खोइ के भनौँ म ? मेरी नि त्यसबखत हुन नसकेकी एक जना थिई (र त्यो हुन नसकेको मै सिमित रह्यो पनि) । तर तेती खेर भने छुट्टै कन्फिडेन्स थियो, मैले भने, “मेरो चिन्ता नगर न केटाहो, तिमीहरुलाई बोलाईहाल्छु नि… बरु मेरो भन्दा अगाडी त किरन कै हुन्छ के!”

अब चुप हुने पालो किरन को…उ चै तल तिर फर्किन्छ, मन्द मुस्कान दिन्छ तर त्यो मुस्कानमा कती पिडा लुकेको छ, उसैलाई थाहा छ । लामो रेलसन पछी गोत्रका कारण ब्रेक-अप हुन परेको दु:ख उसलाई सोध्नु कसैले । फेरी यसो माथी हेर्छ अनि पुरानै शैलिमा भन्छ, “टैट! छाड केटा हो, चाहे भने रातभर मा नि पट्टाउन सक्छु, मन मिल्ने नपाएर हो, नत्र बोल्ने त अझै छन् ३-४ जना…”

किरनलाई बोका जरुर भनिन्थ्यो तर अलि सोझै खाले बोका थियो मान्छे चाहिँ ।

“हो, हो, बोका दाई!” सजिन फ्याट्ट भन्छ । “मान्छे भनेको किरन जस्तो हुन पर्छ के…तेस्तो कुरामा टेनसन लिने होईन नि…”

हाम्रो ग्रुपको सबैभन्दा बिन्दास थियो यस्तो मामिलामा सजिन । उसलाई यस्तो कुरा मा चसो थिएन वा देखाउँथिएन, थाहा छैन, तर तेती खेर हामी उस्तै हुन नसकेका र टुटेका ‘लव’हरुको कुरा गर्दा कहिले ध्यान दिदैँन थियो । जमानामा एउटी थिई रे भन्ने सुनाउथ्यो, बस तेती थाहा छ ।

तेती खेर सम्म २-२ गिलास चिया सकाईसकेका छौँ हामीहरुले । गफ भने अझै रोकीसकेको छैन । पाण्डे सबैलाई सोध्छ, “अर्को १-१ चिया जान्छ ?”

“हैट्! तिमीहरु खाओ, म चाहिं सक्दिन” मलाई एकैपटक धेरै चिया खाने बानी छैन ।

“होस्, नखाने, पेट लागेर हैरान भइसकेँ” किरन पनि पन्छिन्छ ।

“मंगाउ, मंगाउ, लास्ट हान्दिम” अनुप भन्छ ।

“नखाने, अब पैसा नि छैन,” सजिन नि पन्छिन्छ ।

“पैसा त मिलाईहालिन्छ नि, के चिन्ता लेको?” पाण्डेलाई ‘फुल-कन्फिडेन्स’ छ । “एत्रो केटाहरु हुँदा हुँदै…”

कुनै पनि केटाहरुको ग्रुपमा, खासगरी कलेज पढ्ने केटाहरुको ग्रुप, देखिने सामान्य दृश्य – खाने सबै, तिर्ने १-२ जना । हाम्रो नि तेइ थियो, जो सँग छ, उसैले तिर्यो, अरुले “ल, अर्को पालि” भन्ने, हिड्ँने ।

र मेरो बानि, अलि धेरै उठ्नु भन्दा अगाडी नै निस्कने । “ल, म निस्केको, तिमीहरु बस्दै गर” आफुले खको चियाको हिसाब गरेर पैसा झेकेर टेबलमा राख्दै उठ्छु म ।

“मुला, अलि पैसा छोडेर जाउ न याँ,” पाण्डे बोलिहाल्यो ।

“अ, तेइ काम बाकी छ…”

“छोड न मुला, आज वालेट बोकेन के, अर्को पाली म खुवाँउछु!”

“टैट्! गएँ म!”

सजिन बोलिहाल्छ “बस् न बस्, अर्को एक चिया खा…एसो मेरो नि तिर्दे…बरु घर छोड्दिन्छु ऐले”

तेती भनेपछी मलाई नि पुग्छ । घर टाढा, २ ओटा गाडी फेरेर जान पर्ने, तेस्ले बाइकमा पुराइदिन्छु भन्ने बितिकै उठिसकेको मान्छे म, फेरी बस्छु । हाम्रो यसरि नै चल्थ्यो…बेला बेला चिया खुवाउने, आकल-झुकल तेल हाल्दिन्थेँ, उसले पर्या बेला पुराउने-लिन आउने गर्थ्यो ।

“ल त ल, मलाई नि मङ्गा चिया…तिमी मात्रै चै के हेर्छौ ? खाउ तिमी नि,” म किरन तिर हेर्छु ।

“ल ल ल, लास्ट आजको,” किरन नि सहमती जनाउँछ ।

“दाइ, ५ वटा चिया…” पाण्डे ठुलो स्वरमा भन्छ । “अनी २ वटा सुर्य…”

अनी फेरी सुरु हाम्रो…

To be continued…